राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ जेष्ठ २९, काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल जेठ ३१ गते बेइजिङ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेइजिङ बसाइका क्रममा उनले चिनियाँ समकक्षी वाङ यीलगायत त्यहाँका उच्च अधिकारीहरूसँग दुई पक्षीय हितका विविध विषयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।यसका साथै मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुनुका साथै चिनियाँ व्यवसायीहरूसँग विशेष अन्तरक्रिया समेत गरी असार ३ गते स्वदेश फर्कनेछन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो परराष्ट्रमन्त्री खनालको तेस्रो विदेश भ्रमण हो।
नेपालमा रास्वपाको सरकार बनेपछि चीनले आफ्ना परियोजनाहरू कसरी अगाडि बढ्छन् भन्नेबारे आशंका व्यक्त गरिरहेका बेला यो भ्रमण हुन लागेकाले यसलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । विशेष गरी चिनियाँ महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको फ्रेमवर्कमा हस्ताक्षर भइसके पनि भूराजनीतिक
जटिलताका कारण लामो समयदेखि यो परियोजना अझै कार्यान्वयन हुन सकेको छैन।
गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको उपस्थितिमा बेइजिङमा दुई मुलुकबीच बीआरआई कार्यान्वयनको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो।चीनले यसको तत्काल कार्यान्वयन चाहेको अवस्थामा हुन लागेको परराष्ट्रमन्त्री खनालको यो भ्रमणले दुई देशबीचको सम्बन्ध र रोकिएका परियोजनालाई गति दिने अपेक्षा गरिएको छ ।