आईतवार, २८ बैशाख, २०८२

जी–२० सम्मेलन भारतको दिल्लीमा सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ भाद्र, २०८०

जी–२० सम्मेलन भारतको दिल्लीमा सुरु

काठमाडौँ । जी–२० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ । १९ वटा देश र युरोपेली संघ गरी २० सदस्यीय रहेको जी–२० मा आज अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी भएको छ । अब जी–ट्वान्टीमा १९ देश र दुई महासंघ सदस्य बनेका छन् ।

सम्मेलनको पहिलो दिन २० देशका प्रमुखहरू एकै ठाउँमा बसेर विश्वको वर्तमान अवस्था र भविष्यका बारेमा छलफल गर्नेछन् । विशेष गरी जलवायु परिवर्तन, खाद्य सुरक्षा र गरिब राष्ट्रहरूको लागि सहायताबारे सम्मेलनमा छलफल हुने बीबीसीले जनाएको छ । 

जी–२० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक सहित अन्य १७ देशका प्रमुखहरू सहभागी छन् । चीन र रुसबाट भने राष्ट्रपति नभइ प्रतिनिधि सहभागी भएका छन् ।

कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका अन्य सदस्यहरूलाई स्वागत गरेका छन् ।उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरूलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

साथै उनले जी–२० सम्मेलनमा मोरक्कोमा गएको भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

जी–२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध छन् ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif