शुक्रबार, २९ जेष्ठ, २०८३

फिफा विश्वकप २०२६ को पहिलो खेलमा मेक्सिको विजयी, ३ खेलाडीलाई रातो कार्ड

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

फिफा विश्वकप २०२६ को पहिलो खेलमा मेक्सिको विजयी, ३ खेलाडीलाई रातो कार्ड

२०८३ जेष्ठ २९, काठमाडौं । घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ मा सुखद् सुरुआत गरेको छ ।

मेक्सिको सिटी रङ्गशालामा सम्पन्न रोमाञ्चक उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० को गोलअन्तरले पाखा लगाएको हो । घरेलु दर्शकको बलियो साथ पाएको मेक्सिकोलाई जिताउन जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोलको योगदान दिए ।

खेलको सुरुवाती क्षणदेखि नै आक्रामक रणनीति अपनाएको मेक्सिकोले नवौँ मिनेटमा नै अग्रता बनाएको थियो । इरिक लिराले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै जुलियन क्विनोनेसले टोलीका लागि पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको दक्षिण अफ्रिका दोस्रो हाफको सुरुवातमै थप संकटमा पर्यो । खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले रातो कार्ड पाउँदै मैदान छाड्नु परेपछि पाहुना टोली १० खेलाडीमा सीमित हुन पुग्यो ।

त्यसकै फाइदा उठाउँदै खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले अर्को गोल थपेर मेक्सिकोको अग्रतालाई दोब्बर बनाए । खेलको अन्तिम समयतिर मैदान झनै तनावपूर्ण बन्न पुग्यो ।

८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा खुम्चियो । लगत्तै दोस्रो हाफको थप गरिएको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड सामना गर्दै मैदानबाट बाहिरिए ।

विश्वकपको इतिहासमै उद्घाटन खेलमा तीन जना खेलाडीले रातो कार्ड पाएको यो खेलबाट मेक्सिकोले स्पष्ट ३ अङ्क जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा आफूलाई उभ्याएको छ । यसै समूह अन्तर्गतको अर्को खेलमा आजै बिहान ७ः४५ बजे चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ ।

advertisement_1680627706.gif