राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असार ०३, काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-१ मा पुर्याए ।
समूह ‘आई’ अन्तर्गत आजै नर्वे र इराक (नेपाली समय ३:४५ बजे) भिड्दैछन् । साथै समूह ‘जे’अन्तर्गत अर्जेन्टिना र अल्जेरिया (नेपाली समय ६:४५) तथा अष्ट्रिया र जोर्डन नेपाली समय ९:४५ भिड्दैछन् ।