राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १३ जेष्ठ, २०८१
काठमाडौं, जेठ १३ । महालेखापरीक्षक कार्यालयका अनुसार सरकारी कार्यालयहरुको बेरुजु रकम करिब १२ खर्ब पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवदेनअनुसार आर्थिक वर्ष ०७९/८० सम्म नेपालको बरुजु ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ पुगेको हो ।
महालेखा परीक्षक कार्यालयका महालेखापरीक्षक टंकमणि शर्मा दंगालले संघीय सरकारी कार्यालयको बेरूजु ५६ अर्ब ३१ करोड, प्रदेशमा ७ अर्ब २० करोड र स्थानीय तहमा ४२ अर्ब ८८ करोड र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरूजु देखिएको बताए।
सार्वजनिक प्रतिवेदनअनुसार संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। अद्यावधिक बेरुजु गत वर्षभन्दा १४.०५ प्रतिशतले बढेको छ ।
उक्त रकममा अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड ४० लाख थप गर्दा कारबाही गरी टुंगो लगाउनुपर्ने अद्यावधिक रकम ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख पुगेको छ । यस प्रकारको रकम वृद्धि हुनुमा राजस्व बक्यौता र बेरुजु रकम मुख्य कारण रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष मात्रै ९५ अर्ब ६० करोड ६१ लाख रुपैयाँ बेरुजु रकम थपिएको छ । संघीय सरकारी कार्यालयको बेरुजु ४६ अर्ब ५३ करोड र प्रदेश सरकारी कार्यालयको बेरुजु ६ अर्ब ५६ करोड रहँदा स्थानीय तहको बेरुजु ३१ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
यसैगरी संघीय समिति र अन्य संस्थाको १० अर्ब ६४ करोड र प्रदेश समिति र अन्य संस्थाको बेरुजु ८४ करोड रुपैयाँ रहेको छ ।