राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८२ भदौ २८, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सोमबारबाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले भोलिबाट विद्यालय खोल्न र पर्सिबाट पठनपाठन सुचारु गर्न निर्णय गरेको हो ।
गत भदौ २३ र २४ गतेको जेन-जेड आन्दोलनका कारण महानगरभित्रका विद्यालयहरू बन्द भएका थिए। अब स्थिति सामान्य हुँदै गएपछि विद्यार्थीलाई कक्षामा फर्काउने तयारी भएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरले मातहतका विद्यालयहरूलाई पठाएको सूचनामा भोलि शिक्षक कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन तर विद्यार्थीलाई नबोलाउन भनिएको छ । शिक्षक कर्मचारीले विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ सम्बद्ध कार्यहरू गर्न तथा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।
विद्यार्थीहरूका अभिभावकसँग सम्पर्क गरी अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालय ल्याउन र लैजाने कार्य आफैँ गर्न अनुरोध गर्ने निर्देशन पनि महानगरको छ । अभिभावकले आफ्नो बालबालिकाको ल्याउने र लैजाने गरी जिम्मा लिएमा र परिस्थिति सामान्य भएमा सोमबारदेखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्शसँगै अध्ययन अध्यापन गराउन भनिएको छ ।
विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई ‘भर्चुअल कक्षा’मार्फत सहजीकरण गर्ने,” विद्यालयहरूलाई लेखिएको सूचनामा उल्लेख गरिएको छ ।