राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ कार्तिक २३ काठमाडौँ । गृह मन्त्रालयले तिहारका अवसरमा खेलिने देउसीभैलो कार्यक्रमलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई ७ बुँदे निर्देशन जारी गरेको छ ।
मन्त्रालयले स्थानीय प्रशासनलाई पत्राचार गर्दै देउसीभैलो कार्यक्रम सञ्चालनका लागि कुनै पनि समयसीमा नतोक्न र २४सै घण्टा सञ्चालन गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।
मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार पठाइएको उक्त परिपत्रमा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावलाई प्रोत्साहन गर्दै पर्वलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरिएको छ ।
मन्त्रालयले जारी गरेका प्रमुख निर्देशनहरूमा देउसीभैलो पूर्ण रूपमा स्वेच्छिक हुनुपर्ने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने उल्लेख छ । साथै, चाडपर्वको आडमा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने जस्ता गतिविधिहरूमा पूर्ण प्रतिबन्ध लगाउन भनिएको छ ।
यसैगरी, अश्लील नृत्य, गीतसङ्गीत वा विभिन्न समुदायबीच द्वेष फैलाउने गतिविधि रोक लगाउन, अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रहरूमा ठूलो आवाजमा ध्वनि उपकरण प्रयोग नगर्न र सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न समेत विशेष ध्यान दिनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।
