राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार ०३, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ । यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशको पनि एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।
त्यसैगरी आज राति देशको हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ ।