मंगलवार, १२ श्रावण, २०८३

सुन प्रकरण पछि सरुवा मागेका त्रिभुवन विमानस्थलका कर्मचारी आन्दोलनमा

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ भाद्र, २०८०

सुन प्रकरण पछि सरुवा मागेका त्रिभुवन विमानस्थलका कर्मचारी आन्दोलनमा

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रूपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाइ नभए पछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन ।

सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी सबन्धि सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए भोली पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ । 

हिजो उनीहरूले तीन घण्टा ‘पेन डाउन’ गरेर साङ्केतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् । 

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतङ्कित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफ्नो माग दुई साता लागिसक्दा पनि सुनवाइ नभए पछि आइतबार वाट उनीहरू आन्दोलनमा उत्रेका हुन । 

उनीहरूले पहुँचका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउने तर कर्मचारी तन्त्रलाई भने त्रसित बनाउन सरकार उद्यत रहेको गम्भीर आरोप लगाएका छन् । ‘सीआईबीबाटै सञ्चार माध्यमहरूलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मुख्य योजनाकार तथा सो सँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने’, भन्सार प्रशासकसमक्ष प्रस्तुत कर्मचारीको माग पत्रमा भनिएको छ ।

advertisement_1676551537.gif