बिहीबार, ७ फाल्गुन, २०८२

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १ माघ, २०८२

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

२०८२ पुष ३०, रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ । मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए । उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनले जानकारी दिए । उक्त सवारी साधन गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने टुनी भञ्ज्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

वडा अध्यक्ष भ्लोनका अनुसार लुटिएको रकममध्ये दुई बोरा पैसा बरामद गरिएको छ। यद्यपि, हालसम्म कति रकम बरामद भएको हो भन्ने यकिन हुन सकेको छैन । बरामद सवारी साधन र रकम हाल इलाका प्रहरी कार्यालय बस्तिपुरमा राखिएको छ ।

लुटपाटमा संलग्न अन्य व्यक्ति भने जंगलतर्फ फरार भएकाले उनीहरूको खोजीका लागि व्यापक खोजतलास अभियान जारी रहेको प्रहरीले जनाएको छ । हतियारसहित बैंकमा प्रवेश गरी कर्मचारी तथा सुरक्षागार्डको हातखुट्टा बाँधेर लुटपाट गरिएको यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

advertisement_1676998982.gif