राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २१ मंसिर, २०८२
२०८२ मंसिर २०, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।
सात वटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
काठमाडौँबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी ९डिब्बा०, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको थिए ।
घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् । चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अवरुद्ध राजमार्गमा ठोक्किएर अवरुद्ध बनेका सातवटा सवारी साधन हटाएसँगै दुवै तर्फको यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले डोजर र स्थानीयको सहयोगमा सवारी हटाएपछि राजमार्ग फेरि सुचारु भएको जनाएको छ ।