राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १५ असार, २०८२
२०८२ असार १५, काठमाडौं । आज राष्ट्रीय धान दिवस मानो रोपेर मुरी उब्जाउने' महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महीना कृषीकार्यकालागि बिशिष्ट छ । असारको १५ लागेपछि बादलहरु पूर्णरुपले परिपक्क भएर पानीका धाराहरु बर्षाउदछन्, माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुदँछन अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोप्दछौ । यसैकारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसकारुपमा मानिन्छ । यस्ता रोपाईंहरुको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्स्तताबिच थकाई मारिने चाड हो, दहि च्यूरा, आँप लगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने भएकालेनै होला आषाढे पन्ध्रलाई दहिच्यूरा खाने दिन पनि भनिन्छ ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-चिउरा खान्छन्।यसबेला दही-चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही-चिउरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकोमा जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ।
पखाला लागेका बेला दही-चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही-चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।