मंगलवार, १७ असार, २०८२

प्रधानमन्त्रीद्वारा एसियाली निर्वाचन व्यवस्थापन निकायको सम्मेलन उद्घाटन

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १९ भाद्र, २०८१

प्रधानमन्त्रीद्वारा एसियाली निर्वाचन व्यवस्थापन निकायको सम्मेलन उद्घाटन

तस्विर: सामाजिक संजाल

काठमाडौं, भदौ १९। प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औं सम्मेलनको आज उद्घाटन गरेका छन् ।

उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए । 

बसाइँसराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक रहेको बताए । अगाडी भने हिमालहरू पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अङ्गका रूपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको समेत बताए ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जनताको मताधिकारको सम्मान हुने पनि जनाए । 

फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो । सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्धाः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसरार्इं’ केन्द्रित भई छलफल हुने छ । 

उद्घाटनसत्रका अवसरमा उक्त मञ्चका अध्यक्ष भूटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरेका थिए । सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधिहरूको सहभागीता रहेको छ । फेम्बोसाको ११औं सम्मेलन दुई वर्षअघि भूटानको नेतृत्वमा भर्चुअलरूपमा भएको थियो ।

दुईदिने यस सम्मेलनमा काठमाडौं घोषणापत्र समेत जारी गरिने कार्यतालिका रहेको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif