मंगलवार, १७ असार, २०८२

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ आश्विन, २०८१

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं, असोज २१ । बडादसैं मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ।

दसैं मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौंबाट बाहिरिएका छन् ।

दसैंका लागि काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ। कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।

बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दसैंको समयमा पनि घर जान नपाएर काठमाडौं उपत्यकामै रोकिन बाध्य भएका आज काठमाडौं बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताए ।

उनले भने, “बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाए, मसँगका साथीहरू टिकट नपाएर काठमाडौंमै छुटेका छन् । कति नरमाइलो लागेको छ”, दसैंका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् ।

यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौंबाट अछाम जानका लागि काठमाडौंको गोंगबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताए ।

उनले भने, “वर्ष दिनको चाड घर जानैपर्यो, सिटका लागि टिकट पाइएन, गाडीले भाडा मिलाउला भनेपछि बोनटमा बसेर भए पनि घर जाँदैछु”, उनीजस्तै टिकट नपाउँदा कतिपय यात्रुहरू बसमा राखिएका मुडा तथा बसको बोनटमा बसेर यात्रा गर्न बाध्य भएका छन् ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif