राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २ आश्विन, २०८१
काठमाडौं, असाेेज २ । सत्तारूढ दलका नेताहरू सम्मिलित संयुक्त कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको सरकारको न्यूनतम साझा कार्यक्रम बुझाएको छ ।
बुधबार प्रधानमन्त्री ओलीलाई बुझाइएको न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक गरिने नेताहरूले बताएका छन् । न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सदस्य रहेका थिए ।
कार्यक्रममा संविधान संशोधन, सुशासन, आर्थिक समृद्धिलगायतका विषयलाई प्राथमिकता दिएको बताइएको छ । नेपाली कांग्रेकसा महामन्त्री गगन थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम तयार पारिएको बताएका छन्।
उनले प्रधानमन्त्रीलाई मस्यौदा बुझाइएको र मन्त्रिपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुने बताए। उनले सरकार बनाउँदा नेपाली कांग्रेस र नेकपा एमालेबीचमा भएको सात बुँदे सहमतिको आधारमा कार्यक्रम बनाइएको बताए ।
उनले यो साझा कार्यक्रम नभइ दुई वटा राजनीतिक दलहरुको साझा संकल्प र नीतिगत प्रतिवद्धता रहेको बताए । उनले छिमेकी देशहरुसँगको सम्बन्ध, आफ्ना आफ्ना पार्टीका प्राथमिकताहरु जोड दिइएको बताए। संविधान निर्माण गर्ने मुख्य शक्ति नै काँग्रेस र एमाले भएकाले संविधान जोगाउने जिम्मेवारी सबैभन्दा ठूलो आफूहरुकै रहेको बताए।
उनले संविधान थप सुदृढ बनाउने गरी संशोधन गर्नेकुरा पनि कार्यक्रममा रहेको बताए। संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी प्रणाली झनै मजबुत बनाउनको लागि हाम्रो अनुभवको वस्तुनिष्ठ समीक्षा गरेर परिमार्जन हुनेकुरा उल्लेख गरिएको बताए ।