राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १९ आश्विन, २०८१
काठमाडौ, असोज १९ । सरकारले १२ जिल्लाका ४३ वटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको सिफारिसको आधारमा बाढीपहिरोले बढी प्रभावित स्थानीय तहलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।
विपद् संकटग्रस्त क्षेत्र घाेषाणा गरीएका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, काभ्रे, ललितपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्लाका बाढीपहिरो प्रभावित स्थानीय तह रहेका छन् । गत साताको बाढीपहिरो र डुबानबाट बढी प्रभावित ४३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार काभ्रेको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन्। त्यस्तै धादिङको बेनीघाट रोराङ, नेत्रावती डबजोङ, गजुरी गाउँपालिका र धुनीबेसी नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन् ।
त्यस्तै पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी र सुनकोशी गाउँपालिका तथा उदयपुरको बेलका नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन् भने दोलखाको गौरीशंकर, बिगु र शैलुङ गाउँपालिका, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, ललितपुरको महांकाल, वाग्मती, कोन्ज्योसोम गाउँपालिका तथा गोदावरी नगरपालिका रामेछापको मन्थली, रामेछाप, खाँडादेवी नगरपालिका तथा दोरम्बा शैलुङ, सुनापती, लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई पनि सरकारले संकटग्रस्त घोषणा गरेको छ ।
त्यसैगरी सिन्धुलीको गोलञ्जोर, सुनकोशी र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर र बकैया गाउँपालिका तथा चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका पनि संकटग्रस्त क्षेत्र घोषित छन् । अब ती क्षेत्रमा आवश्यक स्रोतसाधन केन्द्रित गरेर राहत, पुनःस्थापना र पुनर्निर्माण लगायतका कामलाई द्रुतगति दिइने गृहमन्त्री लेखकले जानकारी दिए ।
गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानको कारण अहिलेसम्म २३९ जनाको मृत्यु भएको छ भने १६९ घाइते भएका छन् । १८ जना अझै बेपत्ता रहेका गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोको कारण देशका धेरै सडकमार्ग अहिले पनि अवरुद्ध छन्।
सडक अवरुद्ध हुँदा चाडपर्वको बेला आवत जावत गर्न नागरिकलाई सास्ती भएको छ ।