राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २९ आश्विन, २०८१
काठमाडौँ, असोज २९ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । पछिल्ला दिनमा पश्चिमीका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।
मनसुन सकिएर पोष्ट मनसुन चलेकाले चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ ।
“काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ”, मौसमविद् सञ्जिव अधिकारीले भने, “पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।” लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । तीनवटै प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।