शुक्रबार, ८ कार्तिक, २०८२

कास्कीमा पहिरोले पुरिएर ११ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २९ असार, २०८१

कास्कीमा पहिरोले पुरिएर ११ जनाको मृत्यु

काठमाडौँ, असार २८ । कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको र पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो।

पहिरोमा पुरिएर मृत्यु हुनेमा पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी रहेको एसपी मोहन कुमार थापाले जानकारी दिए ।

यसैगरी मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर वेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार राति खसेको पहिरोमा पुरिएर पोखरा–१९ पुरन्चौरमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित र तल्लाकोट बस्ने राधिका परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

advertisement_1680627680.gif