राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ११ असार, २०८२
११ असार २०८२, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत रु ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाइ आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक सिएम कमर्सियल बैंकका मेनेजर भएको परिचय दिँदै आएका थिए ।
उनले आफ्नो परिचय दिँदै एलेन अर्बी शाही नामक व्यक्तिको सो बैंकमा खाता रहेको, निजको कोही पनि नातेदार नभएको र पीडित कुर्मराज शाहीको जात मिल्ने भएकाले सो खातामा रहेको सम्पूर्ण रकम तपाईँको नाममा राखिदिन्छु भनी झुठ्ठा प्रलोभन देखाउँदै रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
प्रवक्ता खतिवडाका अनुसार उक्त प्रलोभनमा परी पीडित कुर्मराज शाहीले विभिन्न मितिमा मेहताको नाममा रहेको बैंक खातामा जम्मा रु ६२ लाख ७५ हजार २०० पठाएका थिए । अनुसन्धानका क्रममा पीडितलाई झुटो विश्वास दिलाइ ठगी गरिएको पुष्टि भएको प्रवक्ता खतिवडाले बताए ।