मंगलवार, १७ असार, २०८२

इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १८ कार्तिक, २०८१

इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान

काठमाडौँ, कार्तिक १८ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औँ महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान गरेका हुन् ।

नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ ।

साथै प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधिहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif