राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १९ जेष्ठ, २०८३
२०८३ जेष्ठ १९, वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लिखत सम्बन्धी कसुरको मुद्दामा पक्राउ परेका छन् ।
जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पर्साको ठोरी बाट पक्राउ गरेको हो ।
जेड १२ गते पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह जेठ १३ गते अदालतमा उपस्थित भएका थिए । अदालतमा सुनुवाइ हुन नसकेपछि उनलाई कानुनी प्रक्रियाअनुसार हिरासत पठाईनु पर्नेमा उनी अदालत परिसरबाटै फरार भएका थिए ।
फरार रहेका सिंह भारतको बिहार राज्यस्थित सिवान क्षेत्रमा जोगीको भेषमा देखिएका थिए ।
स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीन जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।