राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १७ असार, २०८१
काठमाडौं, असार १६ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । आज आइतबारदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने बताइएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज तयार भइसकेको जानकारी दिए । ती दस्ताबेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् भने दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबि गरेका छन् ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ । करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।
एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।