गणेश ज्ञवाली, शुक्रबार, ६ असार, २०८२
भूमिका :- नेपाल र चीनबीचको सम्बन्ध करीब दुई हजार वर्ष पुरानो छ । सगरमाथा लगायत विश्वकै अग्ला हिमश्रृंखलाहरूले नेपाल र चीनको भूगोललाई एउटै अंगालोमा बाँधेका छन् । प्राचीन कालदेखि नै भौगोलिक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक आधारमा नेपाल र चीनबीचको बलियो सम्बन्ध निर्मित हुँदै आएको छ । इतिहासका कालखण्डमा नेपाल र चीनबीचमा केही साना, मसिना असमझदारी र विवादहरू भए पनि मूलतः यो सम्बन्ध सुमधुर, हार्दिक मैत्रीपूर्ण र अनुकरणीय रहि आएको छ । नेपाल र चीनबीचमा रहि आएको सम्बन्ध समयअनुसार परिपक्व हुँदै आएको छ र आज यो सम्बन्ध, क्षेत्रीय स्थिरता, आर्थिक सहकार्य, विकास र कुटनीतिक समझदारीमा आधारित छ । नेपाल भन्दा ६५ गुणा ठूलो विशाल भू–भागयुक्त चीन वर्तमान अवस्थामा विश्वको महाशक्ति राष्ट्र हो ।
भौगोलिक हिसाबले सानो मुलुक नेपाल आर्थिक रूपमा कमजोर र विकासोन्मुख राष्ट्र हो । यस अर्थमा विशाल चीनसँगको सामिप्यता, सहकार्य र मैत्रीपूर्ण सम्बन्ध नेपालका लागि आड, भरोशा र सुखद भविष्यको विषय बन्न सक्दछ । नेपालमा जन्मेका गौतम बुद्धले प्रतिपादन गरेको बुद्ध धर्म दर्शनले चीनीयाँ समाजमा प्रभाव पारेको छ । चीनको तिब्बतबाट निस्केर बग्ने कर्णाली, त्रिशुली, कोशी जस्ता नदीको पानीले नेपाली भूमिलाई सिञ्चित गरेका छन् । जल, तीर्थाटन, व्यापार र सांस्कृतिक आदानप्रदानले शदियौँदेखि नेपाल र चीनलाई एउटै सम्बन्ध सुत्रमा उनेका छन् ।
सम्बन्धको ऐतिहासिकता :
प्राचीनकालमा बुद्ध धर्मको प्रचारप्रसारले दुबै देशबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध बलियो बन्न पुग्यो । चीनका बौद्ध तीर्थयात्रीहरू फाहियान पाँचौ शताब्दीमा र हुयान साङ सातौँ शताब्दीमा नेपाल आएका थिए । हुयान साङको यात्रा विवरण र ताङ वृत्तान्त नेपाली इतिहास लेखनका आधार बने । नेपालको कपिलबस्तुको शाक्य परिवारमा जन्मिएका बौद्ध भिक्षु बुद्धभद्रले पाँचौ शताब्दीमा चीनमा पुगेर बुद्ध धर्मको प्रचार गरेका थिए । यिनै आवतजावतहरूबाट नेपाल र चीनबीच सम्बन्धका सिलसिलाहरू अघि बढे । लिच्छवी कालमा नेपालकी चेली भृकुटीको विवाह तिब्बतका राजा स्रङ चङ गम्पोसित भयो । मल्लकालमा बाह्रौँ शताब्दीतिर नेपाली कलाकारहरूको टोली अरनिकोको नेतृत्वमा तिब्बत हुँदै चीनको पेकिङसम्म पुगे र त्यहाँ पुगेर विभिन्न मूर्ति, भवन र चैत्यहरू निर्माण गरे । अरनिकोले निर्माण गरेको श्वेत चैत्य आजसम्म पनि चीन र नेपाल बीचको अमर सम्बन्धको प्रतीक बनेर चीनको भूमिमा ठडिइरहेको छ । लिच्छवि र मल्लकालमा नेपाल र तिब्बत बीच व्यापारिक सम्बन्ध पनि मजबुत थियो । राजा प्रताप मल्लको समयमा काजी भीम मल्लको नेतृत्वमा तिब्बतमा पुगेको नेपाली फौजले तिब्बतसँग वाणिज्य सन्धि गरेर फर्कियो । यसबाट काठमाडौँ र ल्हासाको बीचमा व्यवस्थित रूपमा व्यापार सञ्चालन हुन थाल्यो जसबाट नेपाललाई पर्याप्त लाभ हुन गयो । नेपालका नेवार व्यापारीहरू ल्हासामा बसेर नै व्यापार गर्न थाले । नेपाली सिक्काहरू तिब्बतमा चल्न थाले । चीन तिब्बतको व्यापारबाट काठमाडाँैमा निकै समृद्धि हासिल भयो ।
नेपालको एकीकरण पछि शाहकालमा पनि नेपाल, तिब्बत, चीन सम्बन्धले निरन्तरता पायो । सिक्काको शुद्धता लगायतका व्यापारिक विषयलाई लिएर नेपाल, तिब्बतबीच अल्पकालीन रूपमा सम्बन्धमा दरार पनि आयो । बहादुर शाहको नायवी कालमा नेपाल तिब्बतबीच युद्ध हुँदा शुरुमा नेपाल विजेता बने पनि पछि जब चीनको प्रवेश भयो युद्धमा नेपाली पक्ष कमजोर सावित भई ३० सेप्टेम्बर १७९२ मा वेत्रावती सन्धि भयो । यो सन्धि पछि पुनः नेपाल र चीनबीच मैत्री, भातृत्व, सौगात आदानप्रदान र आपसी सहयोगको वातावरण तयार भयो । सन् १८४०को अफिम युद्ध र सन् १८५० देखि १८६५ सम्मको ‘ताइपिङ विद्रोह’ का कारणले चीनको शक्ति कमजोर हुँदै गएको थियो । २४ मार्च १८५६ मा राणाकालीन नेपाल र तिब्बत(चीन) को बीचमा थापाथली सन्धि भयो । सन् १९११ मा चीनमा राजतन्त्रको अवसान नहँदासम्म वेत्रावती सन्धि र थापाथली सन्धिका प्रावधान अनुसार नै नेपाल, तिब्बत र चीन सम्बन्ध परिचालित भयो । तिब्बतसँगको व्यापारबाहेक अन्य कुनै कारणबाट पनि नेपाल–चीन सम्बन्ध विग्रेन । यो विग्रिएको सम्बन्ध पनि अस्थायी प्रकृतिको हुन्थ्यो । तुरुन्तै मैत्रीमा बदलिन्थ्यो । तिब्बत मामिलामा ठाकठूक परे पनि मूख्य चीनले नेपाललाई सदैव स्नेहपूर्वक व्यवहार गरिरह्यो । तर मंचु राजवंशको अन्त्यतिर सन् १९१० मा भने प्रत्येक पाँच पाँच वर्षमा नेपाल सरकारले चीनका वादशाहसमक्ष उपहार सहितको दूत मण्डल पठाउने कारणले गर्दा नेपाललाई आफू अधिनस्थ मुलुक भएको कुरा व्यक्त गर्यो, जुन सर्वथा गलत थियो । तर गणतन्त्र आइसकेपछि भने सन् १९४२मा चीनका राष्ट्रपति चियाङ काइसेकले समानताको आधारमा दुई देशको सम्बन्ध स्थापित गर्ने कुरा गरेका थिए ।
जनवादी गणतन्त्र चीनको स्थापना पछि :
माओत्सेतुङ्गको नेतृत्वमा सन् १९४९मा चीनमा नयाँ जनवादी गणतन्त्रात्मक साम्यवादी शासन व्यवस्थाको स्थापना भयो । ठीक यसैबेला नेपालमा पनि वि.सं.२००७ साल (अर्थात् सन् १९५०) मा राणाशासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्थाको प्रारम्भ भयो । सन् १९५० मा तिब्बतमाथि चीनले पूर्णतः आफ्नो शासकीय अधिकार स्थापित गर्यो । यी नवीन घटनाक्रमसँगै नेपाल चीन सम्बन्ध पनि नयाँ युगमा प्रवेश गर्यो । नेपाल र तिब्बत बीचमा लामो समयदेखि चलिआएको सम्बन्धको पनि अन्त्य भई अब केबल काठमाडौँ र बेइजिङ्गबीच मात्र सम्बन्ध हुने भयो । बीचमा ल्हासा अब रहेन । नेपाल र नयाँ चीनको बीचमा सन् १९५५ अगष्ट १ का दिन पञ्चशीलको सिद्धान्तको आधारमा कुटनीतिक सम्बन्ध स्थापना भयो । नेपालले ‘एक चीन’ नीतिलाई समर्थन गर्यो । सन् १९६० मा नेपाल र चीनबीच सीमा सम्झौता भयो । सगरमाथाको विवाद हल भयो । माओ नेतृत्वको चीनले हृदयको विशालता प्रकट गर्यो सीमा र सगरमाथाका सवालमा । सुगौली सन्धि पश्चात् केवल भारततर्फ मात्र फर्किएको नेपालले अब यसपछि उत्तर तर्फ पनि फर्केर हेर्न थाल्यो । नवनिर्मित कोदारी राजमार्गले नेपाललाई तिब्बतसँग जोड्यो । नेपालको विकास र शासन व्यवस्थाका सम्बन्धमा यो एउटा महŒवपूर्ण संकेत थियो ।
जनवादी गणतन्त्र चीनले नेपालको विकासमा हरतरहले निस्वार्थ रूपले सहयोग गर्न थाल्यो । चीनले नेपालसँगको सम्बन्धमा कहिल्यै पनि भारतसँग अस्वस्थ प्रतिस्पर्धा गरी असहज परिस्थिति निर्माण हुन दिएन । नेपालका प्रधानमन्त्रीहरू टंकप्रसाद आचार्य, वी.पी कोइरालाहरूले चीनको मैत्रीपूर्ण भ्रमण गरे । त्यस्तै जनवादी गणतन्त्र चीनका तात्कालीन प्रधानमन्त्री चाउ एन लाईबाट दुई पटकसमम नेपालको भ्रमण समपन्न भयो । राजा महेन्द्रबाट र पछि राजा वीरेन्द्रले पनि चीनको भ्रमण गरे । उच्चस्तरीय भ्रमणको यो सिलसिलाले नेपाल–चीनबीचको मैत्री सम्बन्ध थप उचाइमा उठ्दै गयो । यो सिलसिला आजसम्म पनि निरन्तर चलिरहेको छ । कोदारी राजमार्ग, पृथ्वी राजमार्ग जस्ता सडकहरू, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा कारखाना, भृकुटी कागज कारखाना आदि अनेकौँ विकास कार्यमा चीनले नेपाललाई निस्वार्थरूपमा सहयोग गर्यो । सहयोगको यो सूची निकै लामो छ ।
नेपालले पनि अन्तराष्ट्रिय मञ्चहरूमा चीनलाई साथ दिँदै आयो । विशेष गरी जनवादी गणतन्त्र चीनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिइनु पर्छ भनेर नेपालले जोडदार आवाज उठायो । ‘एक चीन’ नीतिको पक्षमा नेपालले खुलेरै समर्थन गर्यो र गरिरहेको छ । सन् १९६२ मा नेपालका दुई निकट छिमेकीहरू भारत र चीन युद्धमा संलग्न हुँदा नेपालले तटस्थताको नीति अपनायो । सी.आइ.ए द्वारा नेपाली भूमि प्रयोग गरी चीन विरुद्ध सञ्चालित ‘खम्पा विद्रोह’ दमन गरी नेपालले चीनलाई ठूलो गुन लगायो । विगत सात दशकदेखि चीनीया कम्युनिष्ट पार्टीको सशक्त नेतृत्वमा चीनले समाज रूपान्तरणको विशाल फड्को मारिरहँदा यता नेपालमा भने अनेकौँ राजनीतिक परिवर्तनहरू भएका छन् । शुरुमा प्रजातन्त्रको स्थापना, पञ्तायती व्यवस्था, बहुदलीय प्रजातन्त्र हुँदै हाल दुई दशक यता संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाल प्रवेश गरेको छ । विशाल चीनले कम्युनिष्ट पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादका सिक्रीहरू चुँडालेर आफ्नो विशाल जनसंख्यालाई गरिबीबाट मुक्त गराउँदै विश्व रंगमञ्चमा महाशक्ति बन्न सफल भएको छ । तर सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका कठोर सिक्रीहरू पूर्णरूपमा चुँडाल्न नसक्नाले नेपाल अझै पनि गरिबी र अविकासमा रहन बाध्य छ ।
चीनले हरेक अप्ठेरोमा नेपाललाई सहयोग गरिरहेको छ । विशेष गरी वि.सं. २०७२ सालको भूकम्पको पीडामा चीनले नेपाललाई ठूलो सहयोग गर्यो । तत्काल उद्धारदेखि भूकम्प पछिको पुनर्निर्माणमा नेपाललाई चीनको ठूलो सहयोग रहेको छ । त्यस्तै गरी कोभिड महामारीको समयमा पनि चीनले स्वास्थ्य सामग्रीहरू प्रदान गरी निकै ठूलो सहायता प्रदान गर्यो । कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्योग, जलविद्युत,पूर्वाधार विकास आदि क्षेत्रमा केही अनुदान र केही ऋण सहयोग प्रदान गरी चीनले नेपाललाई सघाइरहेको छ । २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाउँदा चीनले प्रदान गरेको सहयोग र ढाडसले पनि ठूलै राहत मिलेको थियो । चीन नेपालको दाश्रो ठूलो व्यापार साझेदार पनि हो । तर नेपालले निर्यात भन्दा आयात बढी गर्नुले यो व्यापार भने घाटामा छ जसको लागि भने नेपाल खूद जिम्मेवार छ । नेपाल चीन सम्बन्धको एउटा महŒवपूर्ण पाटो के हो भने चीनले नेपालको शासन सत्तामा कति पनि हस्तक्षेप गरेको छैन, माइक्रोम्यानेजमेन्ट गरेको छैन, र आन्तरिक मामिलामा सदैव अहस्तक्षेपको नीति लिएको छ । चीनको विदेश नीतिको मुख्य आधार नै सहकार्य र परस्पर लाभ हो, साना राष्ट्रहरू माथिको दादागिरी होइन । चीनको यो नीतिले नेपाललाई निकै ठूलो राहत मिलेको छ । भारतको नेपाल नीति भने यस्तो भेटिन्न, उसले ठुल्दाई र सानोभाईको आधारमा व्यवहार गरेको प्रष्ट छ ।
चीनीयाँ सपना, वी.आर.आई र नेपाल :
चीनका वर्तमान राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा चीनीयाँ सपना (ऋजष्लभकभ म्चभबm) को अवधारणा अघि सारेका थिए । यो सपना चीनको दीर्घकालीन विकास, राष्ट्रिय पुनर्जागरण, समृद्धि र जनताको जीवनस्तर सुधारसँग सम्बन्धित छ । यो सपनाले चीनलाई एक बलियो, समृद्ध, सभ्य, समावेशी र आधुनिक समाजवादी समाजमा रूपान्तरण गर्ने लक्ष्य राख्दछ । चीनीयाँ सपना दुईवटा महŒवपूर्ण मितिसँग जोडिएको छ । पहिलो, सन् २०२१ (चीनीयाँ कम्युनिष्ट पार्टीको १००औं वार्षिकोत्सव)ः मध्यम स्तरीय समृद्ध समाज निर्माण गर्ने । करीब ८० करोड जनतालाई गरिबीबाट मुक्त गरेर चीनले यो लक्ष्य हासिल गरिसकेको छ । दोश्रो, सन् २०४९ (चीन जनगणतन्त्रको १००औं वार्षिकोत्सव) जसमा विकसित, बलियो र समावेशी समाजवादी समाज निर्माण गर्ने । विश्व नेतृत्वको आकांक्षा, चीनीयाँ सपनालाई विश्व स्तरमा विस्तार गर्ने र चीनको सैन्य सशक्तीकरण यसका मूख्य भावहरू हुन् ।
यस्तैगरी द्यभति बलम च्यबम क्ष्लष्तष्बतष्खभ९द्यच्क्ष्० पनि सन् २०१३ मा चीनले अघि सारेको वैश्विक विकास रणनीति हो । यसको मूख्य उद्देश्य राष्ट्रहरूका बीचमा पूर्वाधार विकासका माध्यमबाट सहकार्य र कनेक्टिभिटि वृद्धि गर्नु हो । चीनले प्राचीन रेशम मार्ग (क्ष्पि च्यबम) को पुनर्स्थापना गरी चीन र एसियालाई युरोप र अफ्रिकासँग जोड्न चाहन्छ । युरेशियाली देशहरूलाई जोड्ने रेलवे, सडक र पाइपलाइन जस्ता संरचनाहरू बनाउनु र २१औं शताब्दीको मेरिटाइम सिल्क रोडः दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपसम्म फैलिएको समुद्री बन्दरगाह र व्यापार मार्गको विकास गर्नु नै द्यच्क्ष् को मूख्य ध्येय हो । एवं प्रकारले आर्थिक सहयोग र लगानी, पूर्वाधार विकास र अयललभअतष्खष्तथ, भूराजनीतिक उद्देश्य, सांस्कृतिक र शैक्षिक आदानप्रदान, छात्रवृत्ति, पर्यटन र डिजिटल सिल्क रोड जस्ता थुप्रै परस्पर लाभका विषयहरू यसमा समेटिएका छन् । नेपालले पनि सन् २०१७ मा द्यच्क्ष् मा आफ्नो सहभागिता जनाइसकेको छ । ‘चीनीयाँ सपना’ केवल चीनको मात्र सपना होइन, यो वैश्विक सपना पनि हो, नेपालको सपना पनि हो र यसबाट नेपालले पनि प्रशस्त लाभ लिन सक्दछ । द्यच्क्ष् अन्तर्गत रहेर नेपालले वैदेशिक लगानी भिœयाउन सक्दछ, रोजगारी वृद्धि र आर्थिक विकास गर्न सक्दछ । हिमालय वारपार रेलवे र सडक सञ्जालको विकास गरी भारतसँगको परनिर्भरता हटाउन सहयोग पुग्दछ । यस अघि नै नेपालले पनि चीनका बन्दरगाहहरू प्रयोग गर्न पाउने जुन सम्झौता भएको छ, त्यसको यथार्थ कार्यान्वयन गर्न सकेको खण्डमा साँच्चै नेपालको विकासको स्तर छिट्ट्र माथि उठ्दछ
भविष्यको बाटो :
विशाल चीन र भारतबीचको भौगोलिक अवस्थितिले नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ को रूपमा मानिदै आएको छ । भूपरिवेष्ठित राष्ट्र हुनुको यथार्थले नेपालले कैयौँ जटिलताहरू भोग्दै आइरहेको छ । अब समय फेरिइसकेको छ । अब नेपाल चीन र भारतबीच एउटा ‘गतिशील पुल’ बन्नु पर्ने धारणा आइरहेको छ । साथै भूपरिवेष्ठित मुलुकबाट अब ‘भूजडित’ राष्ट्र बन्ने दिशामा नेपाल अघि बढ्नु पर्दछ ।
नेपालमा भारतीय र अमेरिकी प्रभाव अत्यन्तै बढी छ । यो राम्रो कुरो होइन । अमेरिका र भारतसँग नेपालको राम्रो कुटनीतिक सम्बन्ध हुनु पर्दछ तर त्यो चीनसँग नै कुटनीतिक सम्बन्ध कमजोर बनाउने मूल्यमा होइन । निकट छिमेकीको हिसाबले नेपालको चीनसँग वर्तमानमा जुन मात्राको सम्बन्ध छ, त्यो अपुग छ । यसको मात्रा बढाउनु जरुरी छ, तब मात्र नेपाल उँभो लाग्न सक्दछ । रसुवागढी, कोराला, हिल्सा, किमाथान्का, ओलाङचुङगोला, तातोपानी आदि करीब छ/सात वटा उत्तरी नाकाहरू खोलेर कोशी कोरिडोर, कालीगण्डकी कोरिडोर, कर्णाली र भेरी कोरिडोर आदि हुँदै नेपालको दक्षिणदेखि उत्तरका भू–भागहरूलाई चीनको तिब्बतसँग निर्वाध जोड्नुपर्दछ । नेपालको उत्तरी भागमा मध्यपहाडी क्षेत्रमा केही दर्जन शहरहरू विकास गर्ने र तिब्बतसँगको व्यापारलाई बढाउने नीति लिनु आवश्यक छ । चीनले तिब्बतमा विकास बढाउँदै छ, यसको लाभ नेपालले लिन सक्नुपर्दछ । पहाडी भेगमा जलविद्युत, कृषि, वनपैदावार, जडिवुटीहरूको उत्पादन बढाइ तिब्बतमा निर्यात गर्न सके नेपाल र चीन दुबैलाई फाइदा पुग्दछ ।
चीनमा २५ करोड जनता बुद्धमार्गी छन् । रसुवागढी हुँदै रेलमार्गको निर्माण गरी एक प्रतिशत अर्थात् २५ लाख चीनियाहरू मात्र पनि लुम्बिनी ल्याउन सक्ने हो भने नेपालको अर्थतन्त्रमा कायापलट हुन्छ । कुटनीतिक पहल गरी चीनका विद्यालयहरूमा बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ भन्ने सिकाउन सके नेपाललाई राम्रो हुन्छ । नेपालका विद्यालयहरूमा व्यापक रूपमा तिब्बती र चीनियाँ भाषा पढाउने र चीन तिब्बतमा पनि व्यापकरुपमा नेपाली भाषा पढाउने वातावरण तयार गर्न सके नेपाली र चीनीयाँ जनताबीच जनस्तरमै सम्बन्ध विस्तार हुन्छ । चीनले संसारभरी लगानी विस्तार गरिरहेको सन्दर्भमा कुटनीतिक परिपक्वताद्वारा विश्वास जितेर जलविद्युत, उद्योग, कृषि आदि क्षेत्रमा चीनीयाँ लगानी भिœयाउन सके नेपालको अर्थतन्त्र छिटै उकासिन्छ ।
तिब्बतको सुरक्षामा चीन अत्यन्त संवेदनशील छ । नेपाली भूमिमा ‘स्वतन्त्र तिब्बत’को गतिविधि हुन नदिने सुनिश्चितता चीनलाई दिलाउन सक्नुपर्छ । नेपाल र चीनबीच भएका सम्झौताहरूप्रति नेपालले उदासिनता देखाउने गरेको छ । सो कुरा अन्त्य गर्दै सम्झौता कार्यान्वयनमा दृढता प्रदर्शन गरेमा नेपालले चीनको थप विश्वास जित्न सक्नेछ जसको प्रत्यक्ष लाभ नेपाललाई हुनेछ । विशेष गरी भारत र अमेरिकी दवावमा परेर नेपालले चीनसँगको सम्बन्ध विस्तार गर्न डराइरहेको वा ढिलासुस्ती गरेको देखिन्छ । अब यो कुरालाई अन्त्य गरौँ । चीनसँग दृढतापूर्वक उँभिन सक्ने हो भने नेपालको आर्थिक र सुरक्षात्मक हैसियत अहिले भन्दा निकै माथि पुग्दछ भन्ने कुरालाई सबैले मनन गरौँ ।चीनले नेपाललाई निःस्वार्थ सहयोग गरिरहेको छ र बदलामा भरपर्दो मैत्री बाहेक अरु अपेक्षा गरेको देखिन्न ।
निष्कर्ष :
नेपाल चीन सम्बन्धले लामो समय पार गरेको छ । मञ्जुश्री र मानसरोवरहरु यसका प्राचीन आधारहरु हुन् । यो सम्बन्धका अनेकौं आयामहरू छन् । नेपालबाट चीनले बुद्ध धर्म दर्शन सिक्यो । चीनीयाँ जनक्रान्तिको सफलताले नेपाललाई मार्क्स, लेनिन र माओको कम्युनिष्ट दर्शन सिकायो । सोही प्रेरणामै नेपालले जनवादी क्रान्तिको कार्यभार बोकेर कम्युनिष्ट पार्टी गठन गर्यो जुन वर्तमान नेपालको नकार्न नसकिने यथार्थ र नेपाली समाज रूपान्तरणको संवाहक पनि हो । नेपाल चीन सम्बन्धको आर्थिक पाटोलाई दुवै पक्षले महसूस गर्न जरुरी छ । चीनसँग जोडिदा नेपालको भलो हुन्छ भने नेपालको भूमि हुँदै रेल सञ्जाल विस्तार गरिदा चीन पनि भारत र दक्षिण एसियासँग अत्यन्तै छोटो बाटोबाट जोडिन पुग्दछ । यो दुवैको लागि लाभदायक छ । निकट भविष्यमा ट्रान्स–हिमालयन कनेक्टिभिटिलाई छिटो भन्दा छिटो सम्पन्न गर्न सकेमा नेपाललाई मात्र होइन पुरै दक्षिण एसियालाई नै चीनको विशाल आर्थिक विकासको लाभ प्राप्त हुन्छ । नेपाल चीन सम्बन्धको केन्द्रियतामा यही कुरा रहनु पर्दछ । जनस्तरमा जति सम्बन्ध विकास हुँदै जान्छन्, राष्ट्रहरू त्यही अनुपातमा नजिकिदै जान्छन् । दुई देशका जनताहरू बीचको सांस्कृतिक आदानप्रदानमा जोड दिनु, शिक्षालयहरूमा एक अर्काका भाषा प्रशिक्षणमा बढावा दिनु र अन्तराष्ट्रिय मञ्चमा सँगै उभिनु, एक अर्काको सुरक्षामा प्रतिवद्ध रहनु, पूर्वाधार र आर्थिक विकासको साझा लक्ष्यमा पूर्ण विश्वास सहित उँभिनुले नेपाल–चीन सम्बन्धको भविष्यलाई आशालाग्दो बाटोमा डोर्याउनेछ । चीन वा भारतपरस्त बन्नुभन्दा पनि यी दुई देशबीच समदुरीमा रहने सन्तुलित परराष्ट्र नीतिले नेपालको कल्याण गर्दछ ।
लेखक:
गणेश ज्ञवाली