राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २० जेष्ठ, २०८२
१९ जेठ १९, काठमाडौँ । राइड सेयरिङ रोक्नु पर्ने माग गर्दै सार्वजनिक यातायात व्यवसायीहरूले आजबाट देशभर सार्वजनिक यातायात ठप्प पारेका छन् ।
सोमबार बिहानैदेखि निजी सवारी बाहेक बस, टयाम्पो, ट्रक, मिनीबस, जिप, माइक्रो बसलगायतका सार्वजनिक यातायात सवारीसाधन चलेका छैनन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ ।
सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरिएको छ ।
यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ ।