राष्ट्रिय सन्देश संबाददाता, ५१ मिनेट पहिले
२०८३ कार्तिक ०७ काठमाडौँ।मनसुन बाहिरिएसँगै खुलेको मौसममा फेरि बदली हुने संकेत देखिएको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने पूर्वानुमानसँगै त्यसको अप्रत्यक्ष प्रभावले आगामी बुधबार (कात्तिक ११) देखि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले 'पोस्ट मनसुन विशेष मौसम बुलेटिन' सार्वजनिक गर्दै कात्तिक ११ देखि १५ गतेसम्म मुलुकभरको मौसम प्रभावित हुन सक्ने जनाएको छ।विभागले शुक्रबार बिहान जारी गरेको बुलेटिन अनुसार पूर्वमध्य तथा त्यससँग जोडिएको दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवाती आँधीमा परिणत हुनेछ।
उक्त आँधी पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा तटबाट जमिनतर्फ प्रवेश गर्ने सम्भावना रहेको छ। मौसमविद् डेभिड ढकालका अनुसार कात्तिक १० गतेसम्म वर्षाको सम्भावना नरहे पनि त्यसपछि वायुमण्डलमा बादल विकसित भई ११ गतेदेखि वर्षा सुरु हुने अनुमान गरिएको छ।
यस प्रणालीको असर विशेष गरी पर्वतारोहण, पदयात्रा र कृषि क्षेत्रमा पर्न सक्ने देखिएको छ। हाल धान काट्ने र भित्र्याउने मुख्य मौसम रहेकाले वर्षाका कारण पाकेको धानबालीमा क्षति पुग्न सक्ने जोखिम बढेको छ। यसैलाई ध्यानमा राख्दै जल तथा मौसम विज्ञान विभाग र मौसमविद्हरूले भित्र्याउन बाँकी धानबाली जोगाउन आवश्यक व्यवस्था मिलाउन तथा उच्च हिमाली क्षेत्रमा पदयात्रा वा पर्वतारोहण गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवालाहरूमा विशेष आग्रह गरेका छन्।