शनिबार, ८ कार्तिक, २०८३

नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि

२०८३ कार्तिक ०७ काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ः३० बजे पत्रकार सम्मेलनमार्फत अभियान उद्घाटन गरिनेछ ।

कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।

गत असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अभियानमा पार्टी संगठन सुदृढीकरण, सदस्यता नवीकरण, संगठन समायोजन तथा जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकता दिइनेछ । साथै, बैठक, भेला, प्रशिक्षण, जनसेवा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

महँगी, भ्रष्टाचार, बेरोजगारी, कालोबजारीलगायत जनजीविकाका समस्या उठाउँदै केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा सम्बन्धित निकायसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनअघि वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

advertisement_1676553851.gif