बुधबार, २४ भाद्र, २०८३

राहदानी आवेदनका लागि तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

राहदानी आवेदनका लागि तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह

२०८३ भदौ २४ काठमाडौं । राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः उल्लेख्य वृद्धि भएको जनाउँदै आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।

विभागले नयाँ राहदानी प्रणाली सुरुआत भएदेखि आमसेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको सङ्ख्या बढेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्‍याउन आज अनुरोध गरेको हो । विभागले हाल मध्यपूर्वको इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद आगामी असोज २६ गतेसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेको छ ।

त्यस्तै, २०८३ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ । सोही कारण अत्यावश्यक अवस्थाबाहेक सेवाग्राहीलाई नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गई राहदानीका लागि आवेदन पेस गर्न विभागले अनुरोध गरेको छ ।

विभागले राहदानी सेवाग्राहीको चाप व्यवस्थापन तथा सहज रूपमा सेवा प्रवाह गर्न सबै सेवाग्राहीलाई तोकिएको प्रक्रिया र समय पालना गर्न आग्रह गरेको हो ।

advertisement_1680627680.gif