मंगलवार, ६ आश्विन, २०८३

त्रिपुरेश्वरमा भएको बस आगलागीका घाइते चालकको उपचारका क्रममा निधन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

त्रिपुरेश्वरमा भएको बस आगलागीका घाइते चालकको उपचारका क्रममा निधन

२०८३ असोज ०६ काठमाडौँ I काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा निधन भएको छ । उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

अस्पतालका अनुसार आगलागीबाट चालकको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो । सोमबार मध्याह्न करिब १ बजे उद्धार गरी उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो ।

सोमबार दिउँसो त्रिपुरेश्वर चोकस्थित बस स्टपमा ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो । यात्रुहरू ओर्लिसकेपछि चालक  आफैँले बसभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । 

यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) ले छानबिन समिति गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतको संयोजकत्वमा गठित उक्त समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।

समितिले ट्राफिक प्रहरीसँग भएको विवाद र आगलागीको मुख्य कारणबारे सूक्ष्म अनुसन्धान अघि बढाएको छ ।

advertisement_1676553908.gif