सोमबार, ४ कार्तिक, २०८२

विपिन जोशीको शव आज काठमाडौं आइपुग्ने

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

विपिन जोशीको शव आज काठमाडौं आइपुग्ने

२०८२ कार्तिक ३, काठमाडौँ । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । परजोशीको शव फ्लाई दुबईको उडानमार्फत दिउँसो २ः३५ बजे काठमाडौं आइपुग्ने छ । पार्थिव शरीरको सम्मानपूर्वक स्वागत तथा स्थानान्तरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण तयारी पूरा गरिएको छ ।

 अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

शव काठमाडौं आइपुगेपछि नेपाली सेनाको विमानमार्फत धनगढी विमानस्थल पुर्‍याइनेछ । त्यसपछि सेनाले धनगढीबाट एम्बुलेन्सद्वारा महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।

यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरूले जनाएका छन् । प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुनेछन् । श्रद्धाञ्जलि कार्यक्रम नेपाली सेनाको नं. १४ बाहिनी मुख्यालयमा आयोजना गरिने बताइएको छ ।

advertisement_1744958411.jpg