राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १० बैशाख, २०८३
२०८३ बैशाख १०, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक तयारीलाई अघि बढाएको छ । उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यता आधारित बनाउने उद्देश्यसहित पार्टीले संरचनागत संयन्त्र सक्रिय बनाएको हो ।
पार्टी केन्द्रीय समितिको वैशाख ७ गतेको निर्णयअनुसार सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति” गठन गरिएको छ । समितिले देशभरका पार्टी संरचनाबाट प्राप्त हुने सुझावलाई एकीकृत गर्दै उम्मेदवार छनोटको रूपरेखा तयार गर्ने जिम्मेवारी पाएको छ ।
समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाना रहेका छन् भने सदस्यहरूमा समीक्षा बास्कोटा, के।पी। खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वोर कार्की (रोहन) समावेश छन् ।
यसैबीच, समितिको वैशाख १० गते बसेको पहिलो बैठकले वडा, पालिका, जिल्ला तथा प्रदेश तहसम्मबाट व्यवस्थित ढंगले सुझाव संकलन गर्ने निर्णय गरेको छ । प्राप्त सुझावका आधारमा उम्मेदवार छनोटको प्रारम्भिक ढाँचा तयार गरिने जनाइएको छ ।
निर्धारित कार्यतालिका अनुसार वैशाख १४ गते वडा तहमा छलफल सम्पन्न गरी पालिका तहमा पठाइनेछ । त्यसपछि वैशाख १६ गते पालिकाबाट जिल्लामा, वैशाख १७ गते जिल्लाबाट प्रदेश तहमा र वैशाख १८ गते प्रदेशबाट केन्द्रमा सुझाव पठाउने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित तहमा समिति सभापति अनुपस्थित भए उपसभापतिको नेतृत्वमा भौतिक वा भर्चुअल माध्यमबाट बैठक सञ्चालन गरी समयमै सुझाव पठाउन निर्देशन दिइएको पार्टी स्रोतले जनाएको छ ।