बुधबार, १० भाद्र, २०८३

दलको झण्डा बिर्सिएर देशको झण्डा बोकी उद्धारमा जुटौं : रवि लामिछाने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

दलको झण्डा बिर्सिएर देशको झण्डा बोकी उद्धारमा जुटौं : रवि लामिछाने

२०८३ भदौ १० काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।

उनले बिहानदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी निकायका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेर उद्धार तथा राहतका योजनाबारे जानकारी लिइरहेको बताए । नागरिकको ज्यान बचाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण प्राथमिकता भएकाले सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य त्यसतर्फ केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

लामिछानेले बाढी प्रभावित रसुवा र धादिङका नदीतटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन तथा सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गरे । चितवन, नवलपरासीलगायत नदीतटीय क्षेत्रमा पनि सावधानी अपनाउन उनले अपिल गरे ।

उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति तथा उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न सरकारसँग आग्रह गरे । साथै राजनीतिक दलसँग रहेका तालिमप्राप्त तथा विपद् व्यवस्थापनमा अनुभवी जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहतमा परिचालन गर्न सबै दललाई आह्वान गरे ।

‘कुनै दलको झण्डा लिएर होइन, देशको झण्डा लिएर एकैपटक उद्धार र राहतमा उत्रिनुपर्छ,’ उनले भने ।

लामिछानेले २०७२ सालको भूकम्पमा जस्तै अहिले पनि राजनीतिक दलहरूले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताए । रास्वपा संसद्को सबैभन्दा ठूलो राजनीतिक दल भएकाले विपद्को समयमा थप जिम्मेवारीका साथ समन्वय र सहयोग गर्ने उनले प्रतिबद्धता जना ए।

उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राहत तथा उद्धारका लागि रकम परिचालन गरिरहेको  छ। सरकारका विभिन्न मन्त्रालय र मन्त्रीहरू पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको उनले बताए ।

advertisement_1676553908.gif