सोमबार, २९ बैशाख, २०८२

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २७ पुष, २०८१

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिकमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै

२७ पुष, काठमाडौँ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्म जयन्ती मनाउन लागिएको हो ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए।

पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ। पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिकमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।

राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif