राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १७ जेष्ठ, २०८०
काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन ।
पुस ११ गते तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री दाहाल आज दिउँसो साढे १ बजे नेपाल वायुसेवा निगमको नियमित जहाजबाट भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र र ऊर्जालगायतका मन्त्री सहभागी छन् । सञ्चारकर्मी ४ जना, सुरक्षाकर्मी ४ जना र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ ।
प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री दाहालउनी २१ गते मात्रै स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमंत्रीको कार्यालयले जनाएको छ ।