राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १९ चैत्र, २०८२
२०८२ चैत्र १९, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक रोजगारी हुनुपर्नेमा जोड दिएका छन् । फागुन २१ गतेको चुनावपछि बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
‘एक पालिका एक उद्योग, एक घरमा एक रोजगार हुनुपर्छ भन्ने हाम्रो माग छ’, सांसद राईले भने ।
उनले जनताको सेवा सुविधालाई सार्वजनिक सम्पत्ति प्रयोग गर्न पाउने गरी कानुन बनाउन जोड दिएका छन् । उनले सरकारको नीति तथा कार्यक्रममा प्राकृतिक संरक्षण, संस्कृतिको संरक्षण, भ्रष्टाचारको अन्त्य, पारदर्शी काम गर्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले देशको शान्ति सुरक्षाका लागि आवश्यक उपाय अपनाउन र अत्यावश्यक कामलाई प्राथमिकता दिन जोड दिएका छन् ।
अनुसन्धान नगरी सरकारले ल्याएका कामलाई अगाडि बढाउनु नहुने उनको भनाइ छ । सांसद राईले वृद्धभत्ता, ब्रिज कोर्श जस्ता सवालमाथि सरकारले गरेका निर्णयमा विचार गर्न सरकारलाई सुझाव दिएका छन् ।
सांसद राईले सुकुम्वासी भन्दै जनताका घर टहरा भत्काउनु नहुने, भूमिहीन र सुकुम्वासीलाई लाजपूर्जा दिनुपर्नेमा जोड दिए। धनी मात्र नभएर गरिबको पनि हो यो देश भन्ने आवास जनतामा हुनुपर्ने बताएका छन् ।
काठमाडौँ उपत्यका मात्र नेपाल हो भन्ने सोच राख्नु नहुनेमा उनले जोड दिएका छन्। भूपू गोर्खा सैनिकको समान तलबका लागि नेपाल सरकारले पहल गर्नुपर्नेमा उनको जोड छ।
सदनमा सम्बोधन गर्दा लामो भूमिका भन्दा उनले जनताका माग भन्दै विभिन्न सवाल उठाएका छन् ।