राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २६ चैत्र, २०८२
२०८२ चैत्र २६, काठमाडौं।पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानीमा रिहा भएका छन्। सर्वोच्च अदालतको आदेश र सरकारी वकिलको सहमतिमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई परिवारको जिम्मा लगाएर हिरासतमुक्त गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार, अनुसन्धानका क्रममा आवश्यक परेको बेला उपस्थित हुने शर्तमा दुवैजनालाई छाडिएको हो । हिरासतमुक्त भए तापनि स्वास्थ्य अवस्थाका कारण ओली केही समय अस्पतालमै रहने बताइएको छ।
गत भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन' का क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित जाँचबुझ आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि ओली र लेखकलाई गत चैत १४ गते प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ परेपछि ओलीलाई उपचारका लागि अस्पताल र लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरीको २ नम्बर गणमा राखिएको थियो।यसअघि काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि उनीहरू विरुद्ध तीन पटकसम्म म्याद थप गरेको थियो।
तर, उनीहरूका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते 'चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा भए हिरासतमुक्त गर्न' परमादेश जारी गरेको थियो।
सर्वोच्चको आदेशअनुसार जिल्ला अदालतबाट थप भएको म्याद बुधबार सकिएपछि उनीहरूलाई प्रक्रियागत रूपमा परिवारको जिम्मा लगाइएको बताइएको छ