राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १५ बैशाख, २०८०
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अयोग्य माओवादी लडाकुलाई दुई लाख दरले राहत दिने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले देशको आर्थिक अवस्था नाजुक अवस्थामा रहेका बेला अयोग्य माओवादी लडाकुको नाममा राज्यकोषको दुरुपयोग र कार्यकर्तालाई खुवाउने गरेको भन्दै सरकारको आलोचना गरे ।उनले यस भन्दा अगाडी लडाकुका नाममा ९५ करोड रुपैया कहाँ गयो त्यसको हिसाब दिनुपर्ने बताए।
गिरीले उक्त निर्णय तत्काल खारेज गर्न माग गर्दै सरकारले त्यसो नगरे आफ्नो पार्टीले कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए । उनले शान्ति प्रक्रियाका बाँकी चरण पूरा गर्न सरकारले बेवास्ता गरेको आरोप समेत लगाए ।