राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २२ बैशाख, २०८१
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी समकक्षी योको आइतबार नेपाल आउन लागेकी हुन् ।
भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दूतावासले जनाएको छ ।
नेपालस्थित जापानको दूतावासले पनि विदेशमन्त्री योकोको भ्रमणले दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ ।
नेपाल र जापानबीच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यो भ्रमणले त्यसलाई थप विस्तार गर्ने मन्त्रालयले जनाएको छ ।
कामिकावा आइतबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।