राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असार ०३, काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र किसानहरू गम्भीर संकटमा पर्दा पनि सरकारले पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले छिमेकी देश भारतले लागू गरेको नयाँ गुणस्तर मापदण्डका कारण नेपाली चिया निर्यात ठप्प भएको र त्यसको प्रत्यक्ष असर उद्योग तथा किसानमाथि परेको बताए ।
२०८३ असार ०३, काठमाडौं । भारतीय चिया बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (एसओपी)’ नामक नयाँ कडा मापदण्ड लागू गरेपछि नेपाली चिया निर्यातमा विभिन्न अवरोध सिर्जना भएको र यसैका कारण चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्डाएको पनि तीन दिन भइसकेको उनले संसद्लाई जानकारी गराए ।
नयाँ व्यवस्थाले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर प्रभावबारे प्रष्ट पार्दै सांसद राईले भारतीय पक्षको नयाँ नियमअनुसार चियाको गुणस्तर परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने बताए।
उक्त प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने र रिपोर्टमा सामान्य समस्या देखिए पनि उत्पादन गरिएको चिया नष्ट गर्नुपर्ने बाध्यात्मक र अव्यावहारिक नियमका कारण नेपाली व्यवसायी मर्कामा परेको उनको भनाइ थियो। यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै नगएको भन्दै उनले संसद्मा तीव्र असन्तुष्टि व्यक्त गरे ।
सांसद राईले सरकार र प्रधानमन्त्रीको कार्यशैलीमाथि व्यङ्ग्य गर्दै वार्षिक तीन करोड किलोभन्दा बढी तयारी चिया निर्यात हुने र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने चिया उद्योग तथा किसानहरूको समस्या समाधान गर्न सरकारले कत्ति पनि चासो नदेखाएको आरोप लगाए ।
उनले प्रधानमन्त्री अन्य दुई मन्त्रीहरूलाई लिएर देश बनाउन व्यस्त रहेको र सामाजिक सञ्जालमा चिया पसलमा गएर चिया पिएको त देखिने तर अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको चिया उद्योगी र किसानको पीडा बुझ्न उहाँले फुर्सद नपाएको टिप्पणी गरे ।
यो विषय आफूले संसद्मा उठाएको सातौँ पटक भइसकेको स्मरण गराउँदै उनले चिया क्षेत्रको समस्या तत्काल सम्बोधन गर्न, किसान र उद्योगीहरूको हित संरक्षण गर्न तथा कूटनीतिक एवं नीतिगत पहलका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।