राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १६ चैत्र, २०८२
२०८२ चैत्र १६, काठमाडौं । जिल्ला अदालत काठमाडौंले एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न अनुमति दिएन ।
अदालतले बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरिएको मिसिल फर्काइदिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बस्नेतलाई पक्राउका लागि अनुमति माग गरेको थियो ।
धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेश गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेञ्चमा मिसिल पेश हुँदा अनुमति नदिइएको हो ।
एक चोटि तामेली गरिसकेकोमा मुद्दामा पक्राउ अनुमति दिन नमिल्ने भन्दै जिल्ला अदालतले मिसिल फिर्ता गरेको स्रोतले जनाएको छ ।