राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १३ बैशाख, २०८१
काठमाडौं । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।
वि.सं.१९७८ सालमा काठमाण्डौमा जन्मनुभएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए ।
अधिकारीपछि ६ जना कम्युनिष्ट नेताले सरकारको नेतृत्व गरिसकेका छन्। तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको बढी चर्चा हुने गरेको छ। अधिकारी नेतृत्वको सरकारले बृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम पनि त्यहि सरकारले ल्याएको थियो ।
नेता अधिकारीको स्मरण गर्दै आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी जीवनगाथाको विमोचन गर्ने कार्यक्रम रहेको छ। साथै ज्येष्ठ नागरिक देश दर्शन २०८१ को शुभारम्भ कार्यक्रम शुरुवात गर्ने कार्यक्रम रहेको छ ।
अंग्रेजविरूद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका थिए।