राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ४ बैशाख, २०८१
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका चौथो पटक हो।
मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९–९ सांसद छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका १–१ र एक स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।