राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १८ आश्विन, २०८०
नेपालगन्ज। नेपालगन्जमा शान्ति र सद्भाव कायम गर्ने प्रयास स्वरुप जिल्ला प्रसाशन कार्यालय बाँकेमा सम्पन्न सर्वपक्षीय र सर्वदलीय बैठकले नगर क्षेत्रमा जारी कर्फ्यु क्रमशः खुकुलो बनाउँदै जाने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको आह्वानमा जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको हो ।
बैठकले गरेको निर्णय अनुसार सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सदभाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने जस्ता कानून विपरीतका कार्यहरु गर्ने कुनै पनि व्यक्तिहरुलाई तत्काल कानून बमोजिम कडा कारबाही गर्ने उल्लेख गरिएको छ ।
उक्त बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने र नेपालगन्ज क्षेत्रमा हाल जारी रहेको कफ्र्यू आदेश क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गर्र्दै सामाजिक सद्भाव कायम राख्न र अब उप्रान्त सदभाव भड्किन नदिने प्रतिवद्धता गर्नुका साथै सबै क्षेत्र तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव ¥याली आयोजना गर्ने समेत बैठकले निर्णय गरेको छ ।
बैठकमा लुम्बिनी प्रेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणा, प्रदेशसभा सभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राइ, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँकेका राजनीतिक दलका नेता, धार्मिक संघ संस्थाका अगुवाहरुको सहभागिता रहेको थियो ।
धार्मिक विवाद बढ्दै गएपछि मंगलवार दिउँसो १ बजेबाट नेपालगन्जमा जारी गरिएको कर्फ्यु आदेश कायम रहेको छ । हिन्दू र मुस्लिम समुदाय वीच तनाव सिर्जना हुने संकेत देखिएपछि स्थानीय प्रशासनले जारी गरेको कपफ्र्यूमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म तोकिएको छ । कर्फ्यूमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका अतिरिक्त नेपाली सेना परिचालन गरिएको छ ।
आज विहान प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जारी गर्नु भएको विज्ञप्ति अनुसार १६ गतेदेखि जारी कफ्र्यूलाई केही खुकुलो गर्दै विहान ८ बजेदेखि राती ८ बजेसम्म खुकुलो पारिएको छ । सो अवधिमा भेला, बैठक, प्रदर्शन, पोष्टर प्रचार सामाग्री टाँस्न नपाउने, हुल दङ्गा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी जम्मा हुन नपाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । कसैले यस विपरीत गरेको खण्डमा कानून अनुसार कारवाही गरिने जनाइएको छ ।
शान्ति तथा सद्भाव र्याली प्रदर्शन : धमाधम विज्ञप्ति मार्फत् अपिल
यसअघि दुई धार्मिक आस्था राख्ने समुह वीच तनाव बढ्दै गएपछि नेपालगन्जमा मंगलवार वृहत शान्ति तथा सद्भाव पदयात्रा आयोजना गरियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले आयोजित उक्त ¥यालीमा बागेश्वरी मन्दिरका मूल पुजारी चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी लगायतका धर्मगुरु, प्रदेश साँसद्, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा वृहत शान्ति तथा सद्भाव पदयात्रा निकालिएको हो ।
स्थानीय वीपी चोकबाट शुरु भएको उक्त पदयात्रा धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त सभामा बागेश्वरी मन्दिरका मूल योगी, मुस्लिम धर्मगुरु मौलाना मञ्जरी, नगर प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव नेपालगन्जको पहिचान भएकोले यसलाई बचाइराख्न सबैसंग आव्हान गर्दै सबै धर्म सम्प्रदाय, वर्ग र समुदायले सद्भावको शहर नेपालगन्जको पहिचान बचाईराख्न आग्रह गर्नु भयो ।
यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षतामा सोमवार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सद्भावका लागि पदयात्रामा सहभागी हुन सबैसंग अपिल गरेको थियो ।
असहज परिस्थिति बारे टिप्पणी गर्दै नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोही कसैबाट पनिसामाजिक सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउन नहुने बताउनु भयो । कुनै पनि व्यक्ति, सङ्घ संस्था वा समुदाय विशेषले कसैको धार्मिक आस्थामा आँच पु¥याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्म विरुद्ध हुने गरी कुनै पनि किसिमको गतिविधि नगर्न उहाँले आग्रह गर्नुभयो ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले “सामाजिक सद्भावको नमूना शहर नेपालगन्ज हरेक धार्मिक सम्प्रदाय, जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग र समुदायको साझा चौतारी हो भन्दै श्रेष्ठले भन्नुभयो– “नेपालगन्जको शान्त सामाजिक सद्भाव र आपसी एकतामा खलल पु¥याउन खोज्ने विरुद्ध फेरि एकपटक नेपालगन्जवासीले अभूतपूर्व एकता देखाउनु पर्ने अवस्था आएको छ ।”
बाँकेको तनावपूर्ण अवस्थालाई साम्य पारी सद्भाव कायम गर्न नेकपा (एमाले) बाँके, नेपाल पत्रकार महासंघ, बाँके, गैसस महासंघ केन्द्रीय समिति, नेपाल मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेश, नेपालगन्ज मुस्लिम समाज लगायतका संघसंस्थाले विज्ञप्ति मार्फत् सबैसंग आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल र जनप्रतिनिधिको उग्रताले निम्त्याएको अवस्था :
सामाजिक सञ्जालको जथाभावी प्रयोगले गर्दा समाजमा कति जटिल र असहज परिस्थितिको सिर्जना हुन्छ भन्ने कुरा नेपालगन्जको घटनाले स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा लेखिएको जथाभावी टिप्पणीले बाँकेमा हिन्दु र मुस्लिम समुदाय वीच वैमनस्यता उत्पन्न भएर प्रशासनले कफ्र्यू जारी गर्नु प्र्यो । कुनै पनि बेला दंगा भड्किने खतरा उत्पन्न भएपछि असोज १६ गते जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरभित्र अनिश्चितकालीन कर्फ्यु लगाउन वाध्य भयो । तर, आज खुकुलो गर्दै विहान ८ बजेदेखि राती ८ बजेसम्म खुकुलो पारिएको छ ।
बाँके जिल्लामा इस्लाम धर्मावलम्वीहरुले असोज ११ गते “मोहम्मद डे” धुमधामका साथ मनाइएको थियो । बाँके नरैनापुरका एक युवाले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोड्दै जार्बुद यादव नामको फेसबुक आईडीबाट एक स्टाटस लेखे । धार्मिक आस्थामा चोट गुग्ने गरी लेखिएको उक्त स्टेटसका कारण तनाव बढ्दै जाँदा मंगलबार नेपालगन्जमा दुई समुदाय वीच झडप र कर्फ्यु लगाउनु पर्ने अवस्थाको सिर्जना भयो । दुई समुदाय वीच विद्वेश सिर्जना गर्न नेपालगन्ज उपमहानगरपालिका–५ का जसपाबाट निर्वाचित वडाध्यक्ष सराफत खानको मुख्य भूमिका र अगुवाई देखिएको र स्थानीय प्रशासनमै उग्र भीडबाट घेरा हाल्ने काम भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । जथाभावी स्टाटस लेखेको भन्दै खानकै नेतृत्वमा असोज १४ गते एउटा पक्षले नेपालगन्जमा प्रदर्शन गर्ने क्रममा टायर बाल्ने, अर्को समुदायप्रति उग्र नाराबाजी गर्ने र जिल्ला प्रशासन कार्यालयको छटमा पुगेर झण्डा गाडेपछि अर्को अर्को दिन अर्को पक्ष विरोधमा उत्रिएको थियो ।
नगरमा उत्पन्न तनाव वीच ओमकार परिवारले मंगलवार नेपालगन्ज बन्दको आह्वान गर्दै ¥याली गरिएको थियो । यही घटनाक्रमले दुई समुदाय वीच एकपछि अर्को प्रदर्शनले नगरको शान्तिसुरक्षा खल्बलिने विश्लेषण सहित नगर क्षेत्र भित्र अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको थियो ।
अलपत्र यात्रुलाई गन्तव्यमा पुर्याउन प्रहरी स्कटिङ :
भारतबाट दशैं मान्न घर फर्किरहेका सिमानामा अलपत्र परेका नेपाली सर्वसाधारण यात्रुलाई गन्तव्यमा पुर्याउन प्रहरीले स्कटिङ गर्दै नगर क्षेत्र पार गराएको थियो । मंगलवार रातीदेखि सिमाना पारीको रुपइडिहा बजार र सिमानामा अलपत्र परेका यात्रुहरुलाई सार्वजनिक यातायात बस, माइक्रो बसमा राखेर र भारतको नयाँ दिल्ली, देहरादून लगायतमा नियमित चल्ने यात्रुवाहक बसहरुलाई बुधवार विहानैदेखि नेपाल प्रहरीको भ्यानले स्कटिङ गरेर नेपालगन्ज नगर क्षेत्र पार गराएको थियो । यसरी दिनभरमा करीब ७५ वटा बसलाई स्कटिङ गरिएको थियो ।