राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १९ जेष्ठ, २०८०
काठमाडौँ। नेपालमा सबै भन्दा धेरै आर्थात ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्म मान्ने व्यक्तिहरु रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना अन्तर्गत नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजामा यस्तो नतिजा आएको हो ।
कार्यालयले शुक्रबार बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको हो । कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।जसमा मुख्यत नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको सार्वजनिक नतिजामा उल्लेख गरेको छ नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत)ले हिन्दु धर्म मान्ने तथ्यांकले देखाएको छ।
यस्तै, दोस्रोमा बौद्ध धर्म मान्ने मानिस रहेका छन् । तथ्यांकअनुसार २३ लाख ९३ हजार ५४९ जना (८.२१ प्रतिशत)ले बौद्ध धर्म मान्ने रहेका छन् ।
त्यस्तै, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको अन्तिम नतिजाले देखाएको छ ।