राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २८ जेष्ठ, २०८०
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट चालु भैरहेका आयोजनाहरूको कार्यक्रम र नाम परिवर्तन गर्नमा लागेको टिप्पणी गरेका छन् ।आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमाथि छलफलमा भाग लिँदै पौडेलले हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म बिद्युत निशुल्क गर्ने नीति तथा कार्यक्रमबाट बजेट पछि हटेको बताए।
विभिन्न आयोजनाहरू पूरा गर्नका लागि बजेट विनियोजन गर्ने तथा स्रोत सुनिश्चित गर्नतिर बजेट अग्रसर हुनुपर्नेमा त्यसो नभएको उनको भनाइ थियो ।प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले यसअघिको सरकारले ल्याएका आयोजनाहरूलाई वास्ता नगरी कुनैको नाम परिवर्तन गर्ने कुनै मा बजेट घटाउने तथा कसैमा कटौती गर्ने काम बर्तमान सरकारले गरेको आरोप लगाए। ।
सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाइका क्षेत्रमा बजेट घटाइएको र त्यसले आम नेपालीको जीवनस्तर र मानव विकास सूचकांकमा गम्भीर नकारात्मक असर पार्ने पौडेलको भनाइ छ । आर्थिक दायित्व खासै नपर्ने संस्थाहरू खारेज गर्ने अर्थमन्त्रीले खर्च कटौतीका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत जनप्रतिनिधिको सबै प्रकारको भत्ता खारेज गर्न किन सक्नुभएन ? भन्दै पौडेलले प्रश्न गरेका थिए।