राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ५ बैशाख, २०८०
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको शीर्ष नेताहरुको बैठकमा भएको सहमतिअनुसार दाहालले परिषद्को बैठक बोलाएको बताइएको छ। चोलेन्द्र शमशेर राणा गत पुस १३ गते अवकाश पाएपछि प्रधानन्यायाधीशको पद रिक्त छ ।
प्रधानन्यायाधीशको सिफारिस संवैधानिक परिषद्ले गर्छ र राष्ट्रपतिले नियुक्ति गर्नुअघि संसदीय सुनुवाइ समितिले अनुमोदन गर्छ। प्रतिनिधिसभाले सुनुवाइ समिति गठन गर्न बाँकी छ ।शुक्रबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सक्नेछ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, तल्लो सदनका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहन्छन् ।
सोमबार बिहान प्रमुख तीन दलका शीर्ष नेताहरु संवैधानिक परिषद्को बैठकबाट प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्न सहमत भएका थिए । बैठकमा प्रधानमन्त्री दाहालसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरेलगायत नेताहरुको सहभागिता थियो ।