राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३ चैत्र, २०७९
काठमाडौँ । नेपालको तेस्रो उपराष्ट्रपतिको रुपमा सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत ल्याई निर्वाचित भएका हुन्। यस्तै निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् ।
जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।