राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २ जेष्ठ, २०८०
काठमाडौँ। सर्वोच्च अदालतमा तीन दिनदेखि जारी रेशम चौधरीको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको बहस सकिएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको थियो ।इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ ।
कैलालीको टीकापुरमा भएको घटनालाई लिएर जिल्ला र उच्च अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए । सरकारले वैशाख २८ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई छुटाउनेगरी कानुन बनाउन केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको थियो।२०७७ साल फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो। ०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले टीकापुर घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। थरुहटको आन्दोनका क्रममा ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना मारिएका थिए।