राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ६ बैशाख, २०८०
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिएको छ। श्वासप्रश्वासमा समस्या भएर महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
राष्ट्रपतिको नयाँ दिल्लीस्थित एम्समा उपचार हुने र बिहान ९ः३० बजे उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्स बाट भारतको दिल्ली लगिएको हो । त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा राष्ट्रपति पौडेललाई बिदा गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तव पुगेका थिए ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललगायत अन्य नेताले राष्ट्रपतिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
केही दिनअघि पनि पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।,जसले गर्दा उनको उपचारको लागि स्वास्थ्य सचिवको नेतृत्वमा सरकारी अधिकारीहरूको टोली खटाइएको थियो। टोलीको प्रतिवेदनपछि राष्ट्रपतिको उपचारबारे थप निर्णय सरकारले गर्ने छ ।