राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १५ बैशाख, २०८०
काठमाडौँ। भर्खरै सम्पन्न उपनिर्वाचनमा विजयी भएका दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले सपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछाने उपनिर्वाचनमा पहिलेभन्दा धेरै मतान्तरले विजयी भएका छन् । नागरिकता विवादका कारण संसद सदस्यको हैसियतमा उनको पद खारेज गरिएको थियो, जुन पछि नागरिकता पुन: प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गरेर समाधान गरिएको थियो। उपनिर्वाचनमा लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका हुन् ।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले ३४ हजार ९१९ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
त्यस्तै बारा–२ बाट निर्वाचित उपेन्द्र यादव भने सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् ।