राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २८ फाल्गुन, २०७९
काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ। आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा एमालेबाट एक गरी जम्मा चार जनाले शनिबार उम्मेदवारी दिएका थिए ।
नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् भने गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् ।
रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै अष्टलक्ष्मी शाक्य र ममता झाले निर्वाचन आयोगमा उजुरी दिएका छन् । राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार हुन नहुने उजुरीकर्ताको दाबी छ ।
ती उजुरीहरुमाथि जाँचबुझ गरी १२ बजेभित्र निर्णय गर्ने, नामावली फिर्ताको समय दिने र पाँच बजेभित्र अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
उपराष्ट्रपचि चउनका लागि चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।